नेपाली एप्स @ एमविलियन्थ


काठमाडौ, असार २० - नेपालबाट दैनिक औसतमा १ हजार ५ सय युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन्छन् । स्वदेशमै रोजगारी पाए विदेश किन जानु ? केही कमाउन सकिन्छ कि भनेर विदेश जान खोज्नेहरू ठगिने क्रम गाउँबाटै सुरु हुन्छ ।

गाउँमा दलालले ठग्छन्, राजधानीमा म्यानपावर कम्पनीले । श्रम स्वीकृति लिने क्रममा कर्मचारीदेखि उड्ने बेला विमानस्थल हँुदै सम्बन्धित मुलुकको रोजगारदाता कम्पनी पुगेपछि पनि उनीहरू ठगिनेक्रम रोकिंदैन ।

त्यसरी ठगिनबाट दाजुभाइलाई कसरी रोक्ने ? सफ्टवेयर डेभलप गर्दै आएको जानकी टेक्नोलोजीका अमित अग्रवालको टिमले यसमा केही गर्ने आइडिया ल्यायो । म्यानपावर कम्पनीले कामदारलाई कुन कम्पनीमा काम गर्न पठाउने ? तलब कति हुने ? भिसा प्रोसेसिङ शुल्क कति लाग्ने ? कुन पदमा काम गर्न जाने ? यी प्रश्नका जवाफ खुलाएपछि मात्र सरकारले श्रम स्वीकृति दिन्छ ।

त्यस्ता विवरण कामदार र उनीहरूका आफन्तले थाहा पाए ठगिने सम्भावना कम हुन्छ । त्यस्तो जानकारी कसरी उपलब्ध गराउने ? सबैभन्दा सजिलो माध्यम मोबाइल हुनसक्छ । चलाउन सजिलो, सबैको पहँुचमा रहेको यही डिभाइसबाट एसएमएस गर्नासाथ श्रम स्वीकृतिको विवरण उपलब्ध गराउने सफ्टवेयरको डेभलपमा लागे उनीहरू । त्यो प्रयासले सफलता दिलायो । त्यस उत्पादनलाई उनीहरूले श्रम मन्त्रालयको सिस्टमसँग इन्टिग्रेट गरे ।

अब श्रमस्वीकृति पाएकाले आफ्नो पासपोर्ट नम्बर टाइप गरेर एसएमएस गरेपछि सम्पूर्ण विवरण पाउँछन् । उनीहरूको प्रोडक्ट यति लोकपि्रय भयो कि श्रम स्वीकृति पाउने र उनीहरूका आफन्त गरी दैनिक हजारौंले एसएमएसमार्फत सोधखोज गर्न थालेका छन् । श्रम मन्त्रालयका अनुसार म्यानपावर कम्पनीले आफूलाई बताएभन्दा फरक श्रम स्वीकृति लिएको पाउनेले ठगिएको महसुस गर्दै वैदेशिक रोजगारीमा जान अस्वीकार गरेका धेरै छन् ।

'एक जनालाई पनि ठगिनबाट रोक्न सक्यौं भने हामी सफल हुनेछौं भन्ने लागेको थियो,' अमितले सुनाए, 'अहिले सयौंलाई ठगिनबाट जोगाएका छौं ।' जानकीको त्यही प्रोजेक्ट 'लेबर पर्मिट स्ट्याटस भिया एसएमएस एमबिलियन्थ अवार्ड साउथ एसिया २०१४' को फाइनलमा छनोट भएको छ । डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले हरेक वर्ष दक्षिण एसियाली आठ देशका मोबाइल टेक्नोलोजीमा उत्कृष्ट प्रोजेक्टबीच प्रतिस्पर्धा गराउने यो अवार्ड दक्षिण एयिामा प्रतिष्ठित् छ ।

यस इनिसिएटिभ्समा एम गभर्नेन्स विधामा विभिन्न मुलुकका जुरीले अग्रवालको टिमको प्रोजेक्ट छानेका हुन् । मोबाइल र टेलिकम इन्डस्टि्रजमा भएका प्रोडक्टको एक्स्प्लोर, रिकग्नाइज र सम्मान गर्ने दक्षिण एसियाकै एकमात्र प्लेटर्फमको एम इन्टरटेनमेन्ट विधामा जानकीकै पिकोभिको र एम हेल्थ विधामा अर्को नेपाली कम्पनी यागिटेनको आमाको माया चुनियो । नेपाली कम्पनी छानिएको एम गभर्नेन्समा ६, एम इन्टरटेनमेन्टमा ९ र एम हेल्थमा ११ फाइनलिस्ट छन् ।  

जानकीकै पिकोभिकोले संसारका फोटोग्राफीप्रेमीबीच निकै लोकपि्रय छ । यसका मोबाइल एप्स र वेव दुवै भर्सन छन् । वेब भर्सनबाट भ्रमण, आफन्तको विवाह, पार्टीलगायतका रमाइलापलको फोटोलाई भिडियो बनाएर फेसबुक, ट्वीटरजस्ता सोसल मिडियामार्फत् साथीभाइलाई बाँड्न सकिन्छ । यसको मोबाइल एप्प पनि निकै लोकपि्रय बनेको छ । यसका युजर २ लाखको हाराहारीमा छन् । यसबाट लाखौं भिडियो बनाइएका छन् ।

उनीहरूको यस प्रोजेक्टले 'स्टार्ट अप चिली' मा ल्याटिन अमेरिकी र युरोपेली १ हजार ६ सय कम्पनीमध्ये टप १ सय छानिएर ४० हजार अमेरिकी डलर -झण्डै ४० लाख रूपैयाँ) पुरस्कार पाएको थियो । पश्चिमा प्रयोगकर्ता धेरै भएकाले उनीहरूले अमेरिकामै पिकोभिको कम्पनी स्थापना गरेर त्यसको मार्केटिङ गर्दै आएका छन् । एउटै विग प्लेटर्फममा दुई वटा प्रोजेक्टलाई फाइनल लिस्टमा पार्न सफल जानकीको ब्याक बोन हुन् वीरगंजका अमित, बाराका अरबिन साह, पोखराका धु्रुव अधिकारी, चितवनका सुरज सापकोटा र जनकपुरका मनीष मोदी ।

इन्जिनियरिङ ब्याकग्राउन्डका ती ५ युवाले खोलेको कम्पनीले अहिले ३० जनालाई रोजगारी दिइरहेको छ । अमित कम्पनीका सीईओ हुन् । अरबिनले व्यवस्थापन सम्हाल्छन् । कम्पनीको स्प्यारो एसएमएस धुव्रले हेर्छन् । पिकोभिकोलाई यस स्थानमा ल्याउन सुरज र मनीषको महत्वपूर्ण भूमिका छ । उनीहरुको कम्पनीले विभिन्न संस्था/कम्पनी/व्यक्तिलाई एसएमएस सर्भिस उपलब्ध गराउदै आएको छ ।

रगत खोजी दिनेदेखि एसएलसीको रिजल्टसम्म एसएमएसबाटै उपलब्ध गराउने काम प्यारो एसएमएसले गर्छ । यागिटेनको आमाको माया गर्भवती महिलाका लागि अत्यन्तै उपयोगी एप्स हो । डेभलपर दुर्गाप्रसाद पौडेलका अनुसार गर्भवती महिलाले हरेक साता आउने शारीरिक परिवर्तनबारे भिडियो, अडियो र टेक्स्टबाट जानकारी पाउँछन् । विभिन्न सस्थासँग मिलेर मकवानपुर र चितवनका केही हेल्थपोस्ट क्षेत्रका गर्भवतीलाई एन्ड्रोइड मोबाइल बाँडेको थियो ।

उनीहरूबाट एप्पको राम्रो प्रतिक्रिया आएको पौडेलले बताए । एप्पले कति अवधिको गर्भावस्थामा के गर्न हुन्छ, खानपानमा के ध्यान दिनुपर्छ जस्ता कुराको जानकारीसमेत दिन्छ । एमविलियन्थले अन्तराष्ट्रिय क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई जुरीमा राखेर राखेर प्रोजेक्टको छनौट गर्छ । नेपालबाट नेपाल दुरसंचार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, आइटीविज्ञ हेमपाल श्रेष्ठले जुरीमा रहेर फाइनलिस्ट छान्ने अवसर पाएका थिए ।

'फाइनलिस्टमा तीन नेपाली कम्पनी छानिनुले नेपाली अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने देखाउँछ,' खनालले भने । प्रतिस्पर्धामा इनोभेटिभ, मासमा यसको उपयोगीता, ग्लोबल मार्केटमा त्यसले पार्ने प्रभावलगायत हेरिने अर्का जुरी श्रेष्ठ बताउँछन् । उनका अनुसार झन्डै ५ सय आवेदकबाट ती फाइनलिस्ट छानिएका हुन् । जुलाइ १८ मा दिल्लीमा हुने अवार्ड गालामा उनीहरूलाई प्रेजेन्टेसनका लागि बोलाइएको छ
Source: ekantipur.com

0 comments:

Post a Comment